काठमाडौं । आधुनिक जीवनशैलीमा सफलता, पद र प्रतिष्ठाको खोजीमा मानिसहरू यति धेरै व्यस्त हुन थालेका छन् कि परिवारसँग बिताउनुपर्ने समय नै कम हुन थालेको छ। परिवारका लागि सुख–सुविधा जुटाउने प्रयासमा धेरैले परिवारलाई आवश्यक पर्ने सबैभन्दा ठूलो कुरा आफ्नो साथ र समय बिर्सने गरेका छन्। यस्तै अवस्थामा प्रधानमन्त्री बालेन शाहले परिवार र जिम्मेवारीबीच सन्तुलन कायम गर्न सकिने एउटा सकारात्मक उदाहरण प्रस्तुत गरेका छन्।
हालै चितवनमा आयोजित एक कार्यक्रममा पत्नी सविना शाह र छोरी निलोफरसहित पुगेका प्रधानमन्त्री शाह छोरीलाई काखमा बोकेर हिँडिरहेको तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चित बन्यो। देशको नेतृत्व गरिरहेको व्यक्तिले आफ्नो परिवारलाई पनि उत्तिकै प्राथमिकतामा राखेको दृश्यले धेरैको ध्यान आकर्षित गरेको छ।
सामान्यतया उच्च पद र ठूलो जिम्मेवारीमा पुगेपछि पारिवारिक जीवन ओझेलमा पर्ने गरेको देखिन्छ। सार्वजनिक जिम्मेवारी, व्यस्त कार्यतालिका र निरन्तरको दौडधुपका कारण धेरै व्यक्तिहरू परिवारका सदस्यहरूसँग समय बिताउन नसक्ने अवस्थामा पुग्छन्। तर बालेन शाहले पद र प्रतिष्ठाभन्दा पनि परिवारको महत्त्व कम नहुने सन्देश दिएका छन्।
प्रधानमन्त्रीको सपथ ग्रहण समारोहदेखि विभिन्न सार्वजनिक कार्यक्रमसम्म उनले पत्नी र छोरीलाई सँगै सहभागी गराउने गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा समेत छोरीलाई लैजाने गरेका उनका गतिविधिले परिवारलाई जीवनको अभिन्न हिस्सा मान्ने सोचलाई झल्काउँछ।
बालेन र उनकी पत्नी सविनाकी पहिलो सन्तान निलोफर हुन्। छोरी निलोफरको जन्मका क्रममा सविनाले जटिल स्वास्थ्य अवस्था सामना गर्नुपरेको थियो। लामो उपचार र संघर्षपछि मात्र छोरीलाई सुरक्षित राख्न सम्भव भएको बताइन्छ। यही कारण पनि बालेनको छोरीप्रतिको माया र लगाव विशेष रहेको बताइन्छ।
जीवनमा सफलता केवल धन, दाम, नाम वा प्रतिष्ठाबाट मात्र मापन हुँदैन। मानिसले कमाएको सम्पत्तिले सुविधा त दिन सक्छ, तर परिवारसँग बिताएको समयले सम्बन्धलाई बलियो बनाउँछ, विश्वास बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ। सन्तानका लागि सबैभन्दा ठूलो उपहार महँगा वस्तु होइन, आमाबुवाको साथ र समय नै हो।
देशकै उच्च जिम्मेवारीमा रहेर पनि परिवारलाई समय दिन सकिन्छ भन्ने सन्देश प्रधानमन्त्री बालेन शाहको व्यवहारबाट स्पष्ट देखिन्छ। उनको जीवनशैलीले एउटा महत्वपूर्ण पाठ सिकाउँछ। पद, प्रतिष्ठा र व्यस्तता जति नै ठूलो भए पनि परिवारलाई कहिल्यै पछि पार्नु हुँदैन। किनकि अन्ततः मानिसले सम्झने कुरा उपलब्धि मात्र होइन, आफ्ना प्रियजनसँग बिताएका ती अमूल्य क्षणहरू पनि हुन्।