भारतसँगको उच्चस्तरीय बैठकमा राष्ट्रिय झण्डा र महिला प्रतिनिधित्वबारे सांसद ओलीको प्रश्न

hitkhabar.com


काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले भारतसँगको उच्चस्तरीय बैठकमा नेपालको राष्ट्रिय झण्डाको प्रस्तुति तथा नेपाली प्रतिनिधिमण्डलमा महिला सहभागिताबारे प्रश्न उठाएकी छन्।

ओलीले बैठकमा भारतीय पक्षले आफ्नो राष्ट्रिय झण्डालाई स्पष्ट रूपमा प्रस्तुत गरेको देखिए पनि नेपालको राष्ट्रिय झण्डाको प्रस्तुति र स्थानबारे प्रश्न उठ्ने अवस्था देखिएको उल्लेख गरेकी छन्।

झण्डा केवल औपचारिक प्रोटोकलको विषय मात्र नभई राष्ट्रिय सम्मान, समानता र सार्वभौम पहिचानको प्रतीकसमेत भएकाले नेपालको कूटनीतिक प्रोटोकल र राष्ट्रिय सम्मानप्रति पर्याप्त संवेदनशीलता अपनाइएको थियो कि थिएन भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने उनको भनाइ छ।

त्यस्तै, नेपाली प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको तर्फबाट महिला प्रतिनिधित्व नदेखिएको तर भारतीय पक्षको प्रतिनिधिमण्डलमा महिला सहभागिता उल्लेखनीय रूपमा देखिएको ओलीले उल्लेख गरेकी छन्।

उच्चस्तरीय द्विपक्षीय संवादमा नेपालको संस्थागत प्रतिनिधित्व कति समावेशी र सन्तुलित छ भन्ने विषयमा पनि यसले सोच्न बाध्य बनाउने उनले बताएकी छन्।

ओलीले यी दुवै विषयलाई सानो औपचारिक कमजोरीका रूपमा मात्र लिन नहुने उल्लेख गर्दै कूटनीतिक प्रोटोकलले पारस्परिक सम्मान र समानताको सन्देश दिने तथा समावेशी प्रतिनिधित्वले राज्यका संस्थाहरूको प्रतिबद्धता प्रतिबिम्बित गर्ने बताएकी छन्।

उनले नेपालले यस्ता उच्चस्तरीय द्विपक्षीय भेटवार्तामा राष्ट्रिय सम्मान, कूटनीतिक मर्यादा र समावेशी प्रतिनिधित्वलाई अझ व्यवस्थित र संवेदनशील ढंगले सुनिश्चित गर्न आवश्यक रहेको बताएकी छन्।

प्रतिक्रिया