सुर्खेतमा जिप दुर्घटना: चालकसहित १५ जना घाइते, एकको अवस्था गम्भीर
hitkhabar.com
28 Jul 2026
काठमाडौं । सुर्खेतको लेकबेशी नगरपालिका–५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जिप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे १ ज ५४० नम्बरको मुस्ताङ जिप उकालो चढ्ने क्रममा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते भएका आठ जनाको सुर्खेतस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ भने अन्य पाँच जनाको दशरथपुरस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी घाइतेको अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनापछि प्रहरीले जिपलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।