काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको निर्माण र सुदृढीकरणका लागि सक्रिय रुपमा लाग्न कार्यकर्ताहरुलाई आह्वान गरेकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जननेता मदन भण्डारीको अवधारणाअनुसार पार्टी निर्माणमा सबैले प्रतिबद्धता जनाउनुपर्नेमा जोड दिइन् ।
“जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न म देशभरका सम्पूर्ण एमाले पंक्तिमा आग्रह गर्दछु,” उनले भनिन्, “मेरो संकल्प अन्तरआत्माको आवाज हो । आफ्नो निर्णयबाट म विचलित हुने छैन । पार्टी निर्माणमा निर्धक्क भएर सक्रिय हुन हार्दिक आह्वान गर्छु ।”
पूर्वराष्ट्रपति भण्डारीले आफू पार्टीको ४५ वर्ष पुरानो सदस्य भएको स्मरण गर्दै पार्टीप्रतिको आस्था, विचार र नीतिहरुप्रति सधैं प्रतिवद्ध रहेको दाबी गरिन् ।
“म पार्टी सदस्य भएको ४५ वर्ष भइसकेको छ । विचार, सिद्धान्त र नीति प्रतिको मेरो आस्था अझै ज्यूँका त्यूँ छ । यस्तो अवस्थामा मलाई पार्टी सदस्यबाट बञ्चित गर्नु कदापि मिल्दैन,” उनले भनिन्, “यो पार्टी बनाउन म लगायत हजारौं नेता–कार्यकर्ताले रगत, पसिना र मेहेनत गरेका छौं । यो कुरा भावनामा डुबेर भनेकी होइन ।”
एमालेप्रतिको गहिरो निष्ठा व्यक्त गर्दै उनले आन्तरिक एकताको आवश्यकता औंल्याइन् । पार्टीभित्रका असहमतिहरू समाधान गर्दै पार्टीलाई सुदृढ बनाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो ।