उद्योग–व्यवसाय र लगानी प्रवर्द्धनबारे प्रधानमन्त्री बालेन्द्र शाहको निजी क्षेत्रसँग छलफल

hitkhabar.com


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा बुधबार निजी क्षेत्रका उद्योगी–व्यवसायीका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित छलफलमा प्रधानमन्त्री शाहले मुलुकको आर्थिक गतिविधिलाई चलायमान र सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले उद्योग–व्यवसायको विस्तार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रलाई आवश्यक सहजीकरण उपलब्ध गराउने विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्नुभयो।


प्रधानमन्त्री शाहले नीतिगत तथा प्रक्रियागत अवरोध हटाएर निजी क्षेत्रको मनोबल बढाउने, उत्पादन वृद्धि गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। आर्थिक सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो।


छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहलाई थप सरल र प्रभावकारी बनाउने तथा सरकार–निजी क्षेत्रबीच नियमित, परिणाममुखी संवादलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका थिए।


छलफलमा सहभागीहरूले निजी क्षेत्रको विश्वास अभिवृद्धि हुने गरी नीतिगत सुधार र लगानीमैत्री वातावरण निर्माणमा सरकारले थप सक्रिय भूमिका खेल्नुपर्ने सुझावसमेत दिएका थिए।

प्रतिक्रिया