काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, इन्फर्मेसन टेक्नोलोजी सोसाइटी (आईटीएस) नेपाल तथा नेपाल चेम्बर अफ कमर्सअन्तर्गतको आईसीटी समितिसँगको सहकार्यमा “Accelerating Nepal’s Digital Economy through Innovation, Technology Transfer, Talent Development and Global Collaboration” विषयमा राष्ट्रिय राउण्डटेबल छलफल कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको विशेष उपस्थिति रहेको थियो।
छलफलमा नेपालमा डिजिटल अर्थतन्त्रको विकासलाई तीव्र बनाउन नवप्रवर्तन, प्रविधि हस्तान्तरण, दक्ष जनशक्ति विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई कसरी प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ भन्ने विषयमा व्यापक विचारविमर्श भएको जनाइएको छ।
सहभागीहरूले शिक्षा, विज्ञान, प्रविधि र निजी क्षेत्रबीचको सहकार्यलाई अझ सुदृढ गर्दै डिजिटल रूपान्तरणलाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। साथै, युवालाई प्रविधिमैत्री सीप प्रदान गर्दै विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार पार्नु आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
कार्यक्रममा सरकारी निकाय, प्रविधि क्षेत्रका विज्ञ, निजी क्षेत्रका प्रतिनिधि तथा विभिन्न सरोकारवाला संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो।
आयोजकका अनुसार छलफलबाट प्राप्त सुझावलाई नेपालको डिजिटल अर्थतन्त्र विस्तार, प्रविधि आधारित उद्यम प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारका आगामी नीतिगत पहलमा उपयोग गरिनेछ।