कांग्रेसमा कुनै आन्तरिक समस्या छैन, अब महाधिवेशनमा केन्द्रित हुन्छौँ : प्रकाश रसाइली

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीभित्र अहिले कुनै संवैधानिक वा आन्तरिक समस्या नरहेको दाबी गरेका छन्। उनले कांग्रेसको सम्पूर्ण ध्यान आगामी महाधिवेशनतर्फ केन्द्रित भइसकेको बताएका छन्।

विशेष महाधिवेशनको विषयमा चर्चा गर्दै रसाइलीले लामो समयसम्म एउटै व्यक्तिले पार्टी नेतृत्वमा पद ओगटिरहने प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको धारणा राखे। कांग्रेसले पुरानो नेतृत्व शैलीलाई चुनौती दिँदै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने दिशामा कदम चालेको उनको भनाइ थियो।

उनले गगन थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको दाबी गर्दै त्यसबाहेक अर्को कांग्रेसको दाबी गर्नु पार्टी विधान र सम्बन्धित संवैधानिक तथा कानुनी व्यवस्थासँग मेल नखाने बताए।

आगामी निर्वाचनमा कांग्रेसलाई पुनः देशको पहिलो राजनीतिक शक्ति बनाउने गरी पार्टी अघि बढ्ने रसाइलीले बताए।

यसैबीच, सहमहामन्त्री रसाइलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)प्रति समेत आलोचनात्मक धारणा व्यक्त गरेका छन्। रास्वपा आफ्ना कामभन्दा अरू राजनीतिक दल तथा व्यक्तिको आलोचनाबाट बढी चर्चामा आएको उनको आरोप थियो।

हालैका बाढीपहिरो तथा अन्य विपद्का घटनालाई उल्लेख गर्दै उनले सरकारको विपद् व्यवस्थापन र पूर्वतयारीप्रति प्रश्न उठाए। विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सरकार अझ प्रभावकारी रूपमा प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

विपद्को जोखिमबारे नागरिकलाई समयमै सूचना तथा आवश्यक पूर्वतयारी गराउन सरकार चुकेको आरोप पनि उनले लगाए। उद्धार कार्यमा आवश्यक दक्ष जनशक्ति तथा प्रविधिको प्रभावकारी प्रयोग गर्नुपर्नेमा समेत उनले जोड दिए।

प्रतिपक्षी दलहरू संकटका बेला सरकारलाई सहयोग गर्न तयार रहेको दाबी गर्दै रसाइलीले विपद्को समयमा समेत सर्वदलीय बैठक नबोलाइएको विषयमा असन्तुष्टि जनाए।

उनले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विपद् व्यवस्थापनका सवालमा असफल भएको आरोप लगाउँदै सरकारको कार्यशैलीप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताए।

रसाइलीले विगतमा सत्तापक्षमा रहेका दलहरूले प्रतिपक्षमा हुँदा सामाजिक सञ्जालमार्फत सरकारको आलोचना गर्ने गरेको स्मरण गर्दै अहिलेको परिस्थितिमा उनीहरूको भूमिका र जिम्मेवारीबारे समेत प्रश्न उठाएका छन्।

प्रतिक्रिया