आजको मौसम: यी प्रदेशमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। तराईका बाँकी भू–भागमा भने आंशिक बादल लाग्ने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा/हिमपातको सम्भावना छ।

त्यस्तै, लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुन सक्नेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको सम्भावना समेत रहेको छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

राति कोशी र मधेश प्रदेशका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भाग र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया