काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकलाई विभिन्न विधामा क्षमता विकास तालिम प्रदान गरेको छ ।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई समान अवसर दिने उद्देश्यसहित तालिका, समय र विषय छनोट गरी तालिम सञ्चालन गरिएको हो ।
तालिमअन्तर्गत बाल विकास सहजकर्ता (ईसीडी) सम्बन्धी कार्यक्रममा १२४ जना, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयका १६४ जना र संस्थागत विद्यालयका ११६ जना शिक्षक सहभागी भएका छन् ।
त्यस्तै, सूचना तथा प्रविधि (आईसीटी) सम्बन्धी तालिममा ३८५ जना शिक्षक सहभागी भएका छन् ।
एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्याङ्कन तथा विषयगत प्रश्नपत्र निर्माण सम्बन्धी तालिममा ४६० जना शिक्षक सहभागी भएका छन् भने प्रारम्भिक बाल शिक्षादेखि कक्षा ३ सम्मका विद्यार्थीमा अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका छन् ।
ढकालका अनुसार शिक्षकको क्षमता विकाससँगै सिकेको ज्ञान, सीप र व्यवहारलाई कक्षा कोठामा प्रभावकारी रूपमा प्रयोग गर्न प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो । यसले सामुदायिक शिक्षाको गुणस्तर सुधारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।