काठमाडौं । भाद्र शुक्ल सप्तमीदेखि सुरु हुने १६ दिने महालक्ष्मीको व्रत आजदेखि प्रारम्भ भएको छ । यस व्रतलाई धन र समृद्धि प्राप्त गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ ।
निष्ठापूर्वक लक्ष्मीमाताको आराधना गर्ने उपासकले आर्थिक समृद्धि र सौभाग्य प्राप्त गर्ने विश्वास रहिआएको छ । यस वर्षको व्रत असोज १९ गते शुक्रबारसम्म चल्नेछ ।
परम्पराअनुसार व्रतका दिन ब्रह्मचार्यमा बस्नुपर्ने, भूमिमा नै सुतेर व्रत सम्पन्न गर्नुपर्ने नियम छ । यस क्रममा दूध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ । साथै कमलको दानाको माला जप गर्दै लक्ष्मीमाताको अर्चना गर्ने र सातमुखे रुद्राक्ष धारण गर्न अत्यन्त फलदायी मानिन्छ ।
धार्मिक विश्वासअनुसार यस व्रतको प्रभावले मृत्युपछि दिव्यधाम प्राप्त हुने र अलक्ष्मीको नाश हुने विश्वास छ ।
पुराणीय कथाअनुसार, समुन्द्र मन्थनका क्रममा क्षीरसागरबाट उत्पन्न देवी लक्ष्मीको भगवान विष्णुसँग विवाह भएको हो । कमलको फूलमा आसन्न लक्ष्मीमाताको हातबाट निरन्तर धनको वर्षा हुने बिम्बलाई धनकी देवीको प्रतीकका रूपमा व्याख्या गरिन्छ ।