पश्चिमी वायुको प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

hitkhabar.com


काठमाडौं । हाल देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने अन्य भू-भागमा आंशिक बदली रहने सम्भावना छ । ती प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ ।

यस्तै, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रलगायत केही स्थानमा तापक्रम बढ्दै तातो महसुस हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति भने कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहनेछ । अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने बाँकी पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया