काठमाडौं । मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत भावपूर्ण शुभकामना सन्देश सार्वजनिक गरेका छन्।
प्रधानमन्त्री शाहले “जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” भन्ने उक्तिलाई उद्धृत गर्दै माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुने उल्लेख गरेका छन्। उनले आमाको माया, त्याग र समर्पणलाई स्मरण गर्दै सम्पूर्ण आमाहरूप्रति सम्मान, कृतज्ञता र नमन व्यक्त गरेका छन्।
सन्देशमा आमाको काखलाई न्यानो र उनका चरणलाई तीर्थसरह पवित्र रहेको उल्लेख गर्दै आमाहरूको दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गरिएको छ। साथै, सन्तानहरूले आफ्ना कर्ममार्फत आमालाई सधैं गर्व गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।
जीवनको पहिलो गुरु तथा अनन्त ममताकी स्रोतका रूपमा आमालाई स्मरण गर्दै “आमाको मुख हेर्ने दिन” का रूपमा मनाइने यस पर्वले पारिवारिक माया र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उनले बताएका छन्।
शुभकामना सन्देशको अन्त्यमा उनले “हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्ने भावनासमेत व्यक्त गरेका छन्।