काठमाडौं । नेपालमा हाल पश्चिमी तथा स्थानीय वायूको आंशिक प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भू-भागमा मिश्रित मौसम रहनेछ।
आज दिउँसो देशको हिमाली भू-भागमा साधारणतया बदली रहनेछ भने कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रसहित अन्य पहाडी भू-भागमा आंशिक बदली रहने जनाइएको छ। बाँकी तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसले उच्च हिमाली क्षेत्रमा यात्रा गर्ने तथा पर्वतारोहणमा जानेहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
यता, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका–खोँचहरूमा तापक्रम बढ्ने सम्भावना देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई भू-भागमा तातो लहर (Heat Wave) को जोखिम समेत रहेको महाशाखाले जनाएको छ।
गर्मी बढ्दो क्रममा रहेकाले सर्वसाधारणलाई दिउँसोको समयमा अत्यावश्यक बाहेक बाहिर ननिस्कन, प्रशस्त पानी पिउन र स्वास्थ्यमा विशेष ध्यान दिन सुझाव दिइएको छ।