काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्लो समय भइरहेका विभिन्न आरोप र चर्चाबारे विस्तृत स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले “हल्ला धेरै भए पनि तथ्य के हो भन्ने बुझ्न आवश्यक” रहेको बताएका छन्।
गुरुङले “२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको” भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै आफूले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढीको सेयर लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको दाबी गरेका छन्। उनले स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समेटिएको भन्दै यसलाई लुकाउने नभई वर्गीकरणको विषय भएको स्पष्ट पारे।
उनले मन्त्री हुनुअघि सेयर खरिद गरेको विषयलाई अपराधजस्तो प्रस्तुत गरिएकोप्रति असन्तुष्टि जनाउँदै नेपालमा सेयरमा लगानी गर्नु वैधानिक र सामान्य प्रक्रिया भएको बताएका छन्। “सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ, जसको स्पष्ट हिसाब–किताब उपलब्ध हुन्छ,” उनले भने।
लगानीको स्रोतबारे उठेका प्रश्नमा गुरुङले आफूले २०८० भदौ २९ गतेको लिखित तमसुकमार्फत ऋण लिएर उक्त रकम लगानी गरेको जानकारी दिएका छन्। सो रकम बैंकिङ प्रणालीमार्फत आएको र त्यसको प्रमाण कागज र बैंक रेकर्डमै रहेको उनले उल्लेख गरे।
“विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपबारे उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किनेकै आधारमा सबैसँग साझेदारी गरेको भन्न नमिल्ने बताए। “यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने हुन्छ,” उनले तर्क गरे।
त्यस्तै, ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभाग भएको स्पष्ट पारे। सो निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको उल्लेख गर्दै आफूले कुनै हस्तक्षेप नगरेको दाबी गरे।
गुरुङले लगानी गर्दा भविष्यका सबै जोखिम पहिल्यै थाहा नहुने भन्दै “पछि भएका घटनालाई अघि गरिएको निर्णयको दोष बनाउनु उचित होइन” भने। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया नदिएको पनि उनले बताएका छन्।
अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। साथै, पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे।