काठमाडौं । देशका अधिकांश भू–भागमा आज मौसम सामान्यतया सफा रहने भए पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो कोशीसहित पहाडी र हिमाली भू–भागमा आंशिकदेखि साधारण बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा तथा बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा गर्मी बढ्ने सम्भावना रहेको छ।
आज राति भने हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायम रहनेछ।