आजको मौसम : पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

hitkhabar.com


काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मौसमको अवस्था फरक–फरक रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ। साथै बाँकी हिमाली क्षेत्रहरूमा पनि आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ। मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, अन्य हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा तथा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाको अनुमान छ।

यता मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ। गर्मी बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।

प्रतिक्रिया