स्वास्थ्य बीमामा ६ महिनामा थपिए ३ लाख ६९ हजार नयाँ बीमित

hitkhabar.com


काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको सहभागिता बढ्दै गएको छ। पछिल्लो ६ महिनाको अवधिमा मात्रै ३ लाख ६९ हजार ४७४ जना नयाँ नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन्। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित सुधारका कामलाई अघि बढाएको जनाएको छ।

सरकारका अनुसार अघिल्लो आर्थिक वर्षको सम्पूर्ण भुक्तानी प्रक्रिया सम्पन्न भइसकेको छ। स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढिरहेको अवस्थामा यसको सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउनेतर्फ सरकारले प्राथमिकता दिएको छ।

सरकारी सेवामा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने तयारीस्वरूप विभिन्न मन्त्रालय, सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहजीकरणका लागि पत्राचार गरिएको छ। सरकारले सरकारी सेवामा कार्यरत सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध हुन आग्रह गरेको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई कागजी प्रक्रिया र प्रशासनिक झन्झटबाट मुक्त गर्दै प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी प्रणालीमा रूपान्तरण गर्ने सरकारको लक्ष्य छ। यससँगै बीमा कोषको वित्तीय दिगोपना कायम गर्ने, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने र नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको छ।

कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्न आवश्यक नीतिगत तथा प्रणालीगत सुधार अघि बढाइएको जनाइएको छ। स्वास्थ्य बीमालाई विश्वसनीय, दिगो र नागरिकमैत्री बनाउन सम्बन्धित सरकारी निकाय, स्वास्थ्य संस्थाहरू तथा अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेको सरकारले जनाएको छ।

स्वास्थ्य बीमा कार्यक्रमसम्बन्धी थप जानकारी, जिज्ञासा तथा सहायता आवश्यक परे निःशुल्क हटलाइन ११६१ मा सम्पर्क गर्न सकिनेछ।

प्रतिक्रिया