काठमाडौं । पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय वायु तथा नेपाल नजिक सक्रिय न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न क्षेत्रमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्नेछ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
मौसममा आउने सम्भावित परिवर्तनका कारण आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।