काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र जर्मन सरकारको प्रतिनिधिमण्डलबीच नेपालको स्वास्थ्य क्षेत्रको विकास तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ ।
मन्त्री मेहताले आज जर्मन सरकारको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) की संसदीय राज्यमन्त्री डा. बार्बेल कोफ्लरको नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रमा जर्मन सरकारले गर्दै आएको सहयोगको प्रशंसा गर्दै पूर्वाधार विकासलगायतका क्षेत्रमा प्राप्त सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि नेपाल र जर्मनीबीचको सहकार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
मन्त्रालयमा भएको भेटमा नेपाल–जर्मनी द्विपक्षीय सम्बन्ध, भोटेकोशी बाढीबाट भएको क्षति तथा त्यसपछिको प्रतिकार्य, नेपालको स्वास्थ्य क्षेत्रलाई थप सुदृढ बनाउने उपाय र आगामी दिनमा सहकार्य विस्तार गर्न सकिने सम्भावित क्षेत्रबारे छलफल भएको जनाइएको छ ।
नेपालको स्वास्थ्य पूर्वाधार विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जर्मनीसँगको सहकार्यलाई निरन्तरता दिने विषयमा पनि भेटवार्तामा जोड दिइएको छ ।