भोटेकोशी बाढीबारे प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाली समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता

hitkhabar.com


काठमाडौं । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाह र अष्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानिजबीच आज टेलिफोन वार्ता भएको छ। बिहान १० बजे भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेका बेला अष्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण रहेको बताउनुभयो।

प्रधानमन्त्री शाहले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अष्ट्रेलिया सरकार र त्यहाँका नागरिकहरूले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

साथै, उहाँले नेपालको यो विपद्मा उद्धार तथा राहत कार्यमा अष्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। खासगरी अष्ट्रेलियाले विशेषज्ञसहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको तथा आर्थिक सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालमा बाढीका कारण बेपत्ता भएका अष्ट्रेलियाली नागरिकहरूको खोजी कार्य तीव्र पारिरहेको बताउनुभयो।

उहाँले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखिको घनिष्ठ सम्बन्ध रहेको उल्लेख गर्दै विपद्को यस क्षणमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा अष्ट्रेलियासँग निरन्तर समन्वय र सहकार्य गरिरहने बताउनुभयो।

संवादका क्रममा अष्ट्रेलियाका प्रधानमन्त्रीले विपद्का कारण नेपालले भोगिरहेको कठिनाइबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया