पशुपति क्षेत्रको ऐतिहासिकता जोगाउन स्थानीयको ध्यानाकर्षण

hitkhabar.com


काठमाडौं । पशुपति क्षेत्रको ऐतिहासिक महत्व जोगाउन स्थानीय बासिन्दाहरूले काठमाडौं महानगरपालिका–८ का वडाअध्यक्ष तथा सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगतलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

आज (आइतबार) पशुपति सिर्जनशील युवा क्लबका अध्यक्ष सुमन डंगोलको नेतृत्वमा विभिन्न संघसंस्थाका प्रतिनिधि र बुद्धिजीवीहरूको समूहले विकास कोषले मनोमानी ढंगमा विभिन्न संघसंस्थालाई स्थान भाडामा दिएको भन्दै गुनासो गरेका हुन् । उनीहरूले यसले क्षेत्रलाई कुरूप बनाउनुका साथै गुँला, गाईजात्रा, खड्ग जात्रा, रोपाइँ जात्रा जस्ता ऐतिहासिक पर्वमा अवरोध सृजना गरेको दाबी गरेका छन् ।

स्थानीयहरूले पशुपति क्षेत्र विकास कोषलाई “पैसा असुलीको अखडा”मा परिणत गरिएको आरोप समेत लगाएका छन् । उनीहरूको भनाइमा, साउन महिनामा श्रद्धालुहरूको भीड अत्यधिक हुने भए पनि जात्रा पर्वहरू सञ्चालनमा बाधा आउने गरी कोषले कार्यक्रम सञ्चालनका लागि ठाउँ दिएको छ ।

वडाअध्यक्ष संगतले पनि स्थानीय पर्वमा अवरोध सह्य नहुने चेतावनी दिएका छन् । “ऐतिहासिक जात्राहरूको निरन्तरता जरुरी छ । व्यक्तिगत स्वार्थका लागि कोषले स्थान भाडामा दिनु उपयुक्त होइन,” उनले भने ।

यता, विकास कोषका निमित्त कार्यकारी सदस्य सचिव सुभाष चन्द्र जोशीले भने आफू कोर क्षेत्र भाडामा दिनु नहुने पक्षमा रहेको स्पष्ट पारेका छन् । “स्थानीयको भावना बेगर कुनै निर्णय गर्नु हुँदैन । केही त्रुटि भए जानकारी दिनुहोस्,” उनले आग्रह गरे ।

यसैबीच, स्थानीयहरूले निर्माणाधीन पन्डाल र अन्य कार्यहरू नरोकिने हो भने प्रतिवादमा उत्रिने चेतावनीसमेत दिएका छन् ।

पशुपति क्षेत्रमा साउन महिनाभर विभिन्न जात्रापर्व, मेलाहरू आयोजना हुने भएकाले कोषले व्यवस्थापनमा ध्यान दिनुपर्ने स्थानीयको माग छ ।


प्रतिक्रिया