कोशी–बागमती–गण्डकीका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं ।
देशका अधिकांश भू–भागमा मनसुनी प्रणालीको प्रभाव कायम रहेकाले आज (शुक्रबार) विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही भू–भाग तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भू–भागमा भने पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भाग र कोशी प्रदेशको तराईमा साधारणतया बदली रहनेछ। मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम प्रदेशको तराईमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। त्यसैगरी कोशी र मधेश प्रदेशको तराई, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहरको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया