काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
आज कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा पनि वर्षा/हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित वर्षा वा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा भने तातो दिन हुने सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रहनेछ। मधेश प्रदेश तथा बाँकी हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। मधेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू–भागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।