काठमाडौं महानगरका कार्यवाहक प्रमुख डंगोलसँग सिंगापुरका उप-उच्चायुक्तको शिष्टाचार भेट

hitkhabar.com


काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुखसँग नेपालका लागि सिंगापुरका उप-उच्चायुक्तले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । भेटका क्रममा स्थानीय शासन, सहरी विकास तथा व्यवस्थापन र आपसी हितका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख डंगोलले सहरी स्वच्छता, सरसफाइ, नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सेवा तथा सहरी व्यवस्थापनका कामलाई दिगो र संस्थागत बनाउँदै लगिएको बताउनुभयो । उहाँले महानगरले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा सिंगापुरका उप-उच्चायुक्त वाकाभीले विगत पाँच वर्षमा काठमाडौंको सुन्दरता र व्यवस्थापनमा सकारात्मक परिवर्तन आएको उल्लेख गर्दै त्यसका लागि महानगरले गरेका कामबारे जिज्ञासा राख्नुभएको थियो । उहाँको प्रश्नको जवाफ दिँदै कार्यवाहक प्रमुख डंगोलले सहरी पूर्वाधार, सरसफाइ व्यवस्थापन र सेवा प्रवाह सुधारका क्षेत्रमा निरन्तर काम भइरहेको जानकारी दिनुभयो ।

भेटमा दुवै पक्षबीच सहरी विकास र व्यवस्थापनका क्षेत्रमा आपसी सहकार्यका सम्भावनाबारे समेत छलफल भएको थियो ।

प्रतिक्रिया