हिमाली क्षेत्रमा हिमपात, तराईमा मौसम सफा रहने

hitkhabar.com


काठमाडौं । देशभर हाल पश्चिमी वायू र स्थानीय वायूको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण आज देशका विभिन्न भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ । मधेश प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।

कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य पहाडी र हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद्हरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली कायम रहनेछ । अन्य पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ ।

प्रतिक्रिया