डा. शेखर कोइरालाको प्रश्न : “हामीले कस्तो देश बनाउन खोजेका हौं ?”

hitkhabar.com


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले वर्तमान शासन प्रणाली र प्रशासकीय चरित्रप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

काठमाडौंमा आयोजित कर्मयोगी बद्रीविक्रम थापाको १०३औं जन्म स्मृति दिवस तथा बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार वितरण समारोहमा बोल्दै कोइरालाले वर्तमान राजनीतिक र प्रशासनिक प्रवृत्तिप्रति गहिरो आलोचना गरे ।

उनले प्रशासकीय प्रणालीमा दलीय प्रभाव अत्यधिक बढेको भन्दै चिन्ता व्यक्त गरे । “अहिले दलीय प्रशासकहरू यसरी हावी भएका छन्, त्यो कल्पना गर्नै सकिन्न । कुन पार्टीको प्रशासक हो भनेर त्यसको घरमा त पुगिन्छ, तर अरुको घरमा गएर के छ भनेर सोध्ने चलन हराइसकेको छ,” उनले भने ।

बहुदलीय प्रणालीपछि केही सुधार भए पनि गणतन्त्रपछि प्रशासकहरूको शैली नै बदलिएको कोइरालाको भनाइ छ । उनले प्रश्न उठाए — “हामीले कस्तो देश बनाउन खोजेका हौं रु देशलाई के बनाउने हो ?”

राजनीतिमा नैतिकता गम्भीर रूपमा खस्किँदो अवस्थामा रहेको कोइरालाको टिप्पणी थियो । उनले संसदमा घटिरहेका घटनाहरूले संसदको स्तरसमेत घटेको टिप्पणी गरे । संसदभित्र ‘इथिक्स कमिटी’ गठन गर्नु आवश्यक रहेको औंल्याउँदै उनले मन्त्रीहरूमा जिम्मेवारी लिनुपर्ने संस्कार हराएको बताए ।

“कुनै मन्त्रीमाथि आरोप लागेपछि ऊ आफैं राजीनामा दिन्छु भनेर अगाडि बढ्दैन । त्यो आँट नै छैन अहिले,” कोइरालाले भने, “हामीले कस्तो कार्यपालिका बनाउन खोजिरहेका छौं ?”

प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने अभिव्यक्ति दिनु पर्याप्त नभएको भन्दै उनले व्यवहारमै प्रमाणित गर्नुपर्नेमा जोड दिए । “हाम्रो प्रधानमन्त्री दिनको पाँचचोटि भन्नुहुन्छ, ‘म भ्रष्टाचार गर्दिन, गर्न दिन्न’ । यतिले हुँदैन प्रधानमन्त्रीज्यू, अब गरेर देखाउनुपर्छ,” कोइरालाले भने ।

प्रतिक्रिया