काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि सुरु भएको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। मन्त्रालयले यस प्रक्रियाबाट विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको जनाएको छ।
मन्त्रालयका अनुसार यस प्रक्रियाको विस्तृत कार्यतालिका यसअघि नै आफ्ना आधिकारिक सञ्चार माध्यममार्फत सार्वजनिक गरिसकिएको छ।
छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता, वस्तुनिष्ठता तथा संस्थागत विश्वसनीयतालाई उच्च प्राथमिकतामा राख्दै प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयक्षेत्रका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता सुनिश्चित गरिएको छ। साथै, मूल्याङ्कन प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
पूर्वनिर्धारित कार्यतालिकाअनुसार बाँकी पाँच विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम क्रमशः भोलि र पर्सि सञ्चालन हुनेछ।
मन्त्रालयका अनुसार निर्धारित समयसीमाभित्र आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ। यस प्रक्रियाले नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व चयन, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास लिइएको छ।