साउन २८ मा ‘जय नेपाल पार्टी’ दर्ता गरिने, हिन्दू राज्य र राजसंस्था पुनर्स्थापनाको एजेन्डा

hitkhabar.com


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष डा. धवलशमशेर राणाले दुर्गा प्रसाईसँग मिलेर नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ स्थापना गर्न लागिएको घोषणा गरेका छन्। उनले साउन २८ गते पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिने जानकारी दिएका छन्।

बिहीबार काठमाडौंको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राणाले दुर्गा प्रसाई पार्टीका ‘सर्वोच्च नेता’ र आफू पार्टी अध्यक्ष रहने बताए। उनका अनुसार नयाँ पार्टीको प्रमुख उद्देश्य हिन्दू राज्यको पुनर्स्थापना र अभिभावकीय भूमिकासहितको राजसंस्थाको पुनर्बहाली हो।

राणाले आफूहरूले राप्रपामार्फत अघि सारेका एजेन्डा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको निष्कर्षपछि नयाँ राजनीतिक शक्ति निर्माण गर्नुपरेको बताए। उनले नयाँ पार्टी कुनै परम्परागत वामपन्थी वा दक्षिणपन्थी विचारधारामा आधारित नभई नेपालको मौलिक धर्म, संस्कृति, परम्परा र सभ्यतालाई केन्द्रमा राखेर अघि बढ्ने दाबी गरे।

उनका अनुसार निर्वाचित जनप्रतिनिधिले शासन सञ्चालन गर्ने भए पनि राजसंस्थाले राष्ट्रिय एकता, सार्वभौमसत्ता र अभिभावकीय भूमिकामा रहने व्यवस्था आवश्यक छ। नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुकमा राजसंस्था साझा राष्ट्रिय एकताको केन्द्र बन्न सक्ने उनको भनाइ थियो।

राणाले पछिल्ला दुई दशकमा देशको अवस्था अपेक्षाअनुसार सुधार हुन नसकेको दाबी गर्दै राजनीतिक स्थायित्व, राष्ट्रिय एकता र आर्थिक समृद्धिका लागि हिन्दू राज्यसहितको राजसंस्था पुनर्स्थापना आवश्यक रहेको बताए।

उनले प्रस्तावित हिन्दू राज्यले कुनै एक धर्मलाई मात्रै प्राथमिकता नदिई सबै धर्मावलम्बीको धार्मिक स्वतन्त्रताको सम्मान गर्ने स्पष्ट पारे। साथै धार्मिक पहिचान भएका विभिन्न देशहरूको उदाहरण दिँदै नेपालले आफ्नो ऐतिहासिक हिन्दू राष्ट्रको पहिचान गुमाउनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरे।

पत्रकार सम्मेलनमा राणाले नयाँ पार्टीलाई लोकतान्त्रिक, युवा तथा महिलामैत्री बनाइने जानकारी दिँदै नेतृत्व चयनदेखि निर्णय प्रक्रियासम्म बहुमत र सर्वसम्मतिको अभ्यासलाई प्राथमिकता दिइने बताए।

प्रतिक्रिया