काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मालोचना गर्दै स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ ।
पार्टीको आज (मंगलबार) बसेको केन्द्रीय सचिवालयको बैठकले झाँक्रीले सार्वजनिक रुपमा व्यक्त गरेका अभिव्यक्तिहरू पार्टी अनुशासन र हितविपरीत रहेको ठहर गर्दै सो निर्णय गरेको हो ।
बैठकपछि उपमहासचिव प्रकाश ज्वालाले बताएअनुसार, “रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपत्तिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अबदेखि यस्ता पार्टीलाई नकरात्मक असर पार्ने, पार्टी पङ्क्तिलाई भ्रममा पार्ने खालका अभिव्यक्तिहरू नदिने प्रतिवद्धता सहित ७ दिनभित्र पार्टीमा लिखित आत्मालोचना गर्न निर्देशन दिने निर्णय गरिएको छ ।”
बैठक झाँक्रीलाई सचेत गराउने, निलम्बन गर्ने वा निष्कासन गर्ने विकल्पहरूमाथि पनि केन्द्रित रहेको थियो । तर, कतिपय नेताहरूले उनलाई आत्मालोचनाको मौका दिनुपर्ने धारणा राखेका थिए ।
त्यस्तै, बैठकमा पतञ्जली जग्गा प्रकरणबारे पनि छलफल भएको थियो। पार्टी अध्यक्ष माधव कुमार नेपालविरुद्ध उठाइएको मुद्दा राजनैतिक प्रतिशोधका आधारमा गरिएको षड्यन्त्र भएको निष्कर्ष निकाल्दै कानुनी लडाइँ जारी राख्ने निर्णयसमेत गरिएको छ ।
ज्वालाले भने, “पार्टी अध्यक्ष माधव नेपालमाथि लगाइएको मुद्धा योजनावद्ध, षड्यन्त्रमूलक र आग्रहपूर्वक ढंगले दर्ता गरिएको छ । यसविरुद्ध पार्टीले सिंगो राजनीतिक प्रतिवाद गर्दै कानुनी उपचारमा अगाडि बढ्ने छ ।”
पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न बैठकले आन्तरिक एकता मजबुत पार्दै अनुशासन कायम गर्न कडाइका साथ अगाडि बढ्ने संकेत दिएको छ ।