एनपीएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई

hitkhabar.com


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले आफ्नो नाममा लेखाएको छ। शनिबार सम्पन्न फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरे पनि अपेक्षित प्रदर्शन गर्न सकेन। लुम्बिनीको अनुशासित बलिङअगाडि सुदूरपश्चिम १९ ओभर १ बलमै अलआउट हुँदै ८५ रनमा सीमित भयो। टोलीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए। कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन जोड्दा हर्षित सिंह र स्कट कग्लेजिनले समान १०–१० रन बनाए। अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। उनले ११ औँ ओभरको चौथो, पाँचौँ र छैटौँ बलमा लगातार तीन विकेट लिँदै सुदूरपश्चिमको मध्यक्रम ध्वस्त पारे। यस्तै, शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले समान तीन–तीन विकेट लिँदा तिलक भण्डारीले एक विकेट हात पारे।

८६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले आक्रामक सुरुआत गर्दै ९ ओभरमै लक्ष्य पूरा गर्‍यो। दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाउँदै टोलीको जित सुनिश्चित गरे। कप्तान रोहित पौडेलले १६ रन, डार्सी सटले १४ रन र निरोशन डिकवेलाले १० रनको योगदान दिए।

सुदूरपश्चिमका तर्फबाट हेमन्त थामीले दुई विकेट लिए भने कप्तान ऐरी र अविनास बोहोराले एक–एक विकेट हात पारे।

यसअघि पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो। दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको लुम्बिनीले यसपटक उपाधि जित्दै सुखद पुनरागमन गरेको छ। उता, सुदूरपश्चिम भने लगातार दोस्रो पटक फाइनलमा पुगेर उपविजेतामै सीमित हुन पुगेको छ।

प्रतिक्रिया