काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा तातो दिन रहने सम्भावना रहेको जनाएको छ।
आज राति कोशी र मधेश प्रदेश लगायत देशको हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी भू–भागमा आंशिक बदली र बाँकी तराई भू–भागमा मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
यस्तै, कोशी र मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।