काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापान र दक्षिण एसियाबीच मानव संसाधन विकास, विज्ञान तथा प्रविधि, जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
ललितपुरमा आज आयोजित साउथ एसियन फेडरेसन अफ जापानिज युनिभर्सिटिज एलुम्नाई एसोसिएसन (SAFJUAA) को अन्तर्राष्ट्रिय गोष्ठी २०२६ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा मन्त्री खनालले नेपालको विश्वसनीय विकास साझेदारका रूपमा जापानले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले जापानका विश्वविद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको सञ्जालले शैक्षिक ज्ञान र अनुभवलाई व्यवहारिक नीतिगत समाधानमा रूपान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
उनले नवीनता प्रवर्द्धन तथा भविष्यका चुनौती सामना गर्न सक्षम समाज निर्माणका लागि जापान र दक्षिण एसियाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताए ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा उक्त अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरिएको हो ।