वास्तविक सुकुम्बासी पहिचान गरी जग्गा वितरण गर्ने प्रधानमन्त्री शाहको घोषणा

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौँ उपत्यकाका नदी तथा खोला किनारका जोखिमयुक्त बस्ती तथा देशभरका सुकुम्बासी समस्याको समाधानका लागि सरकार तयार रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले हरेक वर्ष बाढीका कारण काठमाडौँका नदीकिनारमा रहेका हजारौँ मानिसले ज्यान जोगाउन मात्र संघर्ष गर्नुपर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरेका छन्। उनले अब यो समस्या आगामी वर्षका लागि पनि थाती नराखी दीर्घकालीन समाधान गर्नुपर्नेमा जोड दिएका छन्।

प्रधानमन्त्री शाहले जोखिमयुक्त स्थानमा बसोबास गरिरहेका नागरिकलाई त्यही अवस्थामै छोडेर राजनीति गर्नु उचित नहुने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थित बसोबास गराउनु राज्यको दायित्व भएको बताएका छन्। उनका अनुसार नागरिकले सुरक्षित स्थानमा बसोबास गर्ने अधिकार पाउनुपर्ने कुरा सुनिश्चित गरिनुपर्छ।

उनले नदी तथा खोला किनारमा रहेका बस्तीका कारण काठमाडौँ उपत्यकाको ढल निकास प्रणालीमा अवरोध पुग्नुका साथै नदी–खोलाहरू दुर्गन्धित बनेको पनि उल्लेख गरेका छन्। यसै कारण थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रमा रहेका जोखिमपूर्ण बस्तीलाई बल प्रयोग नगरी मानवीय ढङ्गले सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको उनले स्पष्ट पारेका छन्।

प्रधानमन्त्री शाहले आफूले उम्मेदवारका रूपमा गरेको प्रतिबद्धता, राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र तथा सरकारको ‘१०० काम गर्नै पर्ने सूची’ अनुसार सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए।

उनका अनुसार अतिक्रमणकारी र वास्तविक सुकुम्बासीलाई छुट्याएर वास्तविक पीडितलाई प्रक्रिया पूरा गरी जग्गा वितरण गरिनेछ। उनले देशभरका वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्ने स्थायी समाधान यो सरकारले गर्ने दाबी गर्दै ढुक्क हुन आग्रह गरेका छन्।

प्रतिक्रिया