काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालको समुपस्थितिमा नेपालको डिजिटल पूर्वाधार सुदृढीकरणसँग सम्बन्धित महत्वपूर्ण विषयहरूमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।
उक्त छलफलमा राष्ट्रिय परिचयपत्रको सुरक्षित तथा प्रभावकारी कार्यान्वयन, डाटा सेन्टरको विकास तथा सरकारी एप्लिकेसनहरूको प्राथमिकता निर्धारणका विषयमा विस्तृत रूपमा विचार-विमर्श गरिएको थियो। साथै, सरकारी लक्ष्य प्राप्तिका लागि निजी क्षेत्रसँग सहकार्य र साझेदारी कसरी मजबुत बनाउने भन्ने विषयमा समेत छलफल केन्द्रित रहेको थियो।
त्यसैगरी, डिजिटल पूर्वाधार विस्तारका क्रममा देखिएका विद्यमान चुनौतीहरू र तिनका सम्भावित समाधानका उपायहरूबारे गम्भीर रूपमा समीक्षा गरिएको जनाइएको छ।
छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सना, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक नमराज घिमिरेलगायत सम्बन्धित निकायका उच्च पदस्थ प्रतिनिधिहरूको सहभागिता रहेको थियो।