काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी प्रभावित नागरिकको अवस्था, उद्धार तथा राहत कार्यबारे जानकारी लिनुभएको छ।
प्रधानमन्त्री शाहले प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका टोलीसँग प्रत्यक्ष रूपमा जानकारी लिनुभएको हो। उहाँले प्रभावित क्षेत्रमा अवस्था अझै चुनौतीपूर्ण रहेकाले राज्यका सबै संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको बताउनुभएको छ।
सरकारले अहिले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने कार्यलाई पहिलो प्राथमिकतामा राखेको छ।
खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरी बलका १ हजार ८४५ सुरक्षाकर्मी उद्धार तथा खोजी कार्यमा खटिएका छन्।
उद्धार तथा राहत कार्यको समन्वयका लागि नेपाली सेनाको Joint Operation Committee, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको Quick Action Team तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको Rapid Action Team सक्रिय छन्।
५७३ जनाको हवाई उद्धार
प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी रहेको छ। आज ६९ वटा हवाई उडानमार्फत ५७३ जनाको उद्धार गरिएको छ। थप हेलिकप्टर तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकप्टरलाई समेत सरकारी समन्वय प्रणालीअन्तर्गत उद्धार तथा राहतमा परिचालन गरिएको छ।
हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ।
रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने काम जारी छ। करिब ३ हजार ५०० जनाका लागि विद्यालय तथा सार्वजनिक एवं सामुदायिक भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।
साढे दुई करोड राहत रकम परिचालन
प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको छ।
चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री बोकेका १० ट्रक प्रभावित क्षेत्रतर्फ पठाइएको छ। थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्याउने काम भइरहेको छ।
प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ। नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा विभिन्न स्वयंसेवी संस्था पनि उद्धार तथा राहत कार्यमा परिचालित छन्।
अस्पतालमा आपत्कालीन तयारी
स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ।
वीर अस्पताल र ट्रमा सेन्टरमा १००/१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ। आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको छ।
प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको छ। वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताललगायतबाट आवश्यक औषधि तथा उपकरणसहित मेडिकल टोली परिचालन गरिएको छ।
७० दूरसञ्चार साइट बन्द
बाढीपहिरोका कारण नेपाल टेलिकमका ३८ र Ncell का ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएका छन्।
दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राख्दै प्राविधिक टोली, जेनेरेटर तथा ब्याट्री प्रभावित क्षेत्रमा पुर्याइएको छ। प्रभावित नागरिकका लागि निःशुल्क सञ्चार सुविधा पनि उपलब्ध गराइएको छ।
नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको छ। Ncell ले समेत निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा दिएको छ।
सडक, पुल र विद्युत् पुनःस्थापनामा जोड
बाढीपहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चार संरचनाको तत्काल पुनःसञ्चालनलाई सरकारले प्राथमिकतामा राखेको छ।
सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिको मूल्यांकन तथा पुनःसञ्चालनको काम तीव्र बनाउन निर्देशन दिइएको छ। नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा OPGW तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको छ।
प्रभावित क्षेत्रमा इन्धन पठाइयो
नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा २३ हजार लिटर डिजल र ६ हजार लिटर पेट्रोल मौज्दात रहेको जनाइएको छ।
आज थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको छ। हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको छ।
ड्रोनबाट क्षतिको मूल्यांकन
प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ। फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।
भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो र अन्य जोखिमको निरन्तर निगरानी भइरहेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन
राहत तथा उद्धार कार्यमा संघ, प्रदेश र स्थानीय तहसँगै सुरक्षा निकाय, स्वास्थ्य संस्था, नेपाल रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ।
विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन भइरहेको छ। भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, युरोपेली संघ, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय रेडक्रसलगायतका साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको छ।
प्रधानमन्त्री शाहले उद्धार तथा राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहने बताउनुभएको छ। सरकारले प्रभावित नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, घाइतेको उपचार, तत्काल राहत, सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेको छ।