काठमाडौं । देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशका विभिन्न प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। साथै मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ।
मौसमविद्हरूले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ। कर्णाली प्रदेशका हिमाली क्षेत्र र मधेश प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
रातिको समयमा कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।