स्वदेशी उद्योगको प्रवर्द्धन र निर्यात विस्तारमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री

hitkhabar.com


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार र उद्योगी–व्यवसायीका समस्या समाधानमा सरकारले प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल प्लाइउड उत्पादक सङ्घ, नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता सङ्घ, नेपाल पश्मिना उद्योग सङ्घ र नेपाल डग च्यु उत्पादक सङ्घका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्रीले निर्यातमा देखिएका कानुनी तथा प्राविधिक अवरोध हटाउन सम्बन्धित निकायलाई तत्काल आवश्यक पहल गर्न निर्देशन दिनुभएको हो।

छलफलका क्रममा प्रधानमन्त्रीले नेपाली गलैंचाको विदेशी बजारमा निर्यात सहज बनाउन कूटनीतिक पहल गर्ने, प्लाइउडका कच्चा पदार्थको निर्यात निरुत्साहित गर्न भन्सार दर बढाउने तथा हिमाली क्षेत्रमा भेडापालनलाई प्रोत्साहन गर्न वन ऐन परिमार्जन गर्ने तयारी रहेको जानकारी दिनुभयो।

उहाँले स्वदेशी उद्योगको संरक्षण, उत्पादन वृद्धि र निर्यात विस्तार सरकारको प्राथमिकतामा रहेको स्पष्ट पार्दै निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताउनुभयो।

भेटमा सहभागी उद्योगी–व्यवसायीहरूले आफ्ना माग र समस्यामा प्रधानमन्त्रीले चासो देखाउँदै सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएकोमा सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

प्रतिक्रिया