काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पेशागत सुरक्षा सम्बन्धी मागहरू तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा प्रवाहलाई शीघ्र सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।
वीरगञ्जस्थित नारायणी अस्पतालमा साउन ९ गते चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रति गम्भीर दुःख व्यक्त गर्दै थापाले उक्त घटना निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षाका लागि खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु र उपचारकै क्रममा दुर्व्यवहार तथा भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजका लागि अस्वीकार्य भएको उनको भनाइ छ।
घटनापछि पेशागत सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघसहित चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिँदा उपचारको पर्खाइमा रहेका हजारौँ बिरामी प्रभावित भएको उल्लेख गर्दै उनले यस्तो अवस्था चिन्ताजनक भएको बताएका छन्। चिकित्सकहरू सेवा बन्दजस्तो कठोर निर्णय गर्न बाध्य हुनु तत्कालीन मात्र नभई दीर्घकालीन समाधान खोज्नुपर्ने विषय भएको उनले औंल्याएका छन्।
थापाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (संशोधनसहित) कार्यान्वयनमा रहेकाले नारायणी अस्पताल घटनामा संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै, वार्ताका क्रममा दुर्व्यवहार गर्ने अधिकारी तथा प्रहरीमाथि निष्पक्ष छानबिन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।
यस्तै, नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीसँग तत्काल संवाद गरी उनीहरूका पेशागत सुरक्षा सम्बन्धी मागहरू सम्बोधन गर्न तथा ओपिडीसहित अत्यावश्यक स्वास्थ्य सेवा तत्काल सञ्चालन हुने वातावरण बनाउन सरकारले विशेष पहल गर्नुपर्ने थापाको भनाइ छ।
स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकाले यसको संवेदनशीलतालाई ध्यानमा राख्दै आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई पनि सेवा प्रवाह नरोक्न र वार्ता तथा संवादमार्फत समाधान खोज्न उनले अपिल गरेका छन्।
