काठमाडौं । नुवाकोटमा रहेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयासलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उद्धार कार्यमा नेपाली सेनाका ६६ जना परिचालन भएका छन्। त्यस्तै, तालिमप्राप्त कुकुरसहित खोज तथा उद्धारमा विशेषज्ञता हासिल गरेको सशस्त्र प्रहरी बलको १८ सदस्यीय टोली र नेपाल प्रहरीका ६ जना सुरक्षाकर्मी पनि घटनास्थलमा खटिएका छन्। उद्धारमा हाल कूल ९० जनाको संयुक्त टोली सक्रिय रहेको छ।
उद्धारका क्रममा टोलीले सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेर करिब २×३ फिटको प्वाल बनाउन सफल भएको थियो। त्यसपछि डोरीको सहायताले उद्धारकर्मीहरू तल झरेर सुरुङभित्र रहेका व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरेका थिए।
तर आवाज दिएर सम्पर्क गर्दा भित्रबाट कुनै प्रतिक्रिया प्राप्त नभएपछि उद्धार कार्यलाई थप प्रभावकारी बनाउन वैकल्पिक उपायसमेत अघि बढाइएको छ। सुरुङभित्र प्रवेश गर्ने बाटो फराकिलो बनाउन ठूला उपकरणको प्रयोगसँगै ब्लास्टिङ गर्ने तयारी र अन्य प्राविधिक काम पनि समानान्तर रूपमा भइरहेको जनाइएको छ।
जोखिमपूर्ण भूगोल र कठिन परिस्थितिका बीच नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धारकर्मीहरू निरन्तर घटनास्थलमा खटिएर उद्धार प्रयास गरिरहेका छन्।
उद्धार टोलीले सुरुङभित्र फसेकासम्म सुरक्षित रूपमा पुग्ने र उनीहरूलाई बाहिर निकाल्ने उद्देश्यले उपलब्ध सबै सम्भावित प्रविधि र उपकरणको प्रयोग गरिरहेको छ।