काठमाडौं । देशका विभिन्न भू-भागमा मनसुनी वायूको प्रभाव कायम रहँदा आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने तराईका केही जिल्लामा तातो लहर (हिटवेभ) को जोखिम रहने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायू सक्रिय रहेको छ। अन्य भू-भागमा भने पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाले देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। साथै, कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।
यता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको अवस्था कायम रहने सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी महसुस हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि एक–दुई स्थानमा वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
कोशी प्रदेशको तराईका थोरै स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा रातिको समयमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।