मनसुन सक्रिय: आज र भोलि ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

hitkhabar.com


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज (शुक्रबार) र भोलि (शनिबार) विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना पनि रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुन सक्ने जनाइएको छ। तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्ले बताएका छन्। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, पहाडी र तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने, पहिरो र डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया