कोशीमा भारी वर्षाको चेतावनी, लुम्बिनी–सुदूरपश्चिम तराईमा तातो लहरको सम्भावना

hitkhabar.com


काठमाडौं । देशका विभिन्न भू–भागमा मनसुनी प्रणाली सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी ३–४ दिनभित्र मनसुन विस्तार हुने सम्भावना रहेको छ।

आज (शनिबार) दिउँसो देशका हिमाली तथा पहाडी भू–भागका साथै कोशी प्रदेशको तराईमा सामान्यदेखि आंशिक बदली रहनेछ। मधेश प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ भने सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। यस्तै, कोशी प्रदेशको तराई, मधेश प्रदेशका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तातो लहर (Heat Wave) को अवस्था रहने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि बदली कायम रहनेछ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा भने आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। साथै, कोशी प्रदेशको तराई, मधेशका केही स्थान, बागमती र गण्डकीका तराईका थोरै स्थान तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया