पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध बलात्कार आरोपमा मुद्दा, १० वर्षसम्म कैद र ३ लाख जरिवानाको माग

hitkhabar.com


काठमाडौं । मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश झा ‘अहिराज’ विरुद्ध बलात्कार मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला अदालतमा सोमबार मुद्दा दर्ता गरिएको हो ।

पूर्वप्रमुख झामाथि घरमै बोलाएर पटक–पटक जबरजस्ती बलात्कार गरेको आरोप लागेको छ । स्रोतका अनुसार उनीमाथि एक युवतीले काठमाडौं प्रहरी परिसरमा माघ ३ गते जाहेरी दर्ता गराएकी थिइन् । प्रहरीले अनुसन्धानपछि साउन ४ गते झालाई पक्राउ गरेको थियो ।

अदालतमा दर्ता गरिएको अभियोग पत्रमा झामाथि मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (२) अन्तर्गतको कसुर गरेको भन्दै खण्ड (ङ) अनुसार ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । साथै, उपदफा (३ क) को खण्ड (ग) अनुसार ३ लाख रुपैयाँ जरिवानाको माग पनि गरिएको छ ।

अहिराज मधेस प्रदेशको पहिलो प्रदेश प्रमुख थिए । उनी पूर्वएमाले निकट व्यक्ति मानिन्छन्  । यतिबेला उक्त मुद्दाले राजनीतिक वृत्तमै तरंग ल्याएको छ ।

प्रतिक्रिया