आज पश्चिममा मनसुन बढी सक्रिय रहने

hitkhabar.com


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा देशको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर सक्रिय छ ।

यसको प्रभावका कारण आज मनसुन पूर्वी भू–भागको तुलनामा पश्चिम नेपालतर्फ बढी सक्रिय रहनेछ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी स्थानमा आंशिक बदली रहने सम्भावना छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै देशका अन्य पहाडी भू–भागका केही स्थानमा र मधेश प्रदेशसहित बाँकी तराईका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ ।

आज राति गण्डकी प्रदेशको पहाडी तथा तराई क्षेत्र, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भू–भागका केही स्थानमा र मधेशसहित बाँकी पहाडी तथा तराई क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया