काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बाँदर र मानवबीचको द्वन्द्व बढ्दै गएपछि यसको मानवीय तथा दिगो व्यवस्थापनका लागि पहल थालिने भएको छ।
विशेषगरी स्वयम्भू क्षेत्रका स्थानीयबासीले बाँदरका कारण आफूहरूले विभिन्न समस्या भोग्नुपरेको भन्दै तत्काल व्यवस्थापनको माग गरेका छन्। शनिबार काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भएको छलफलमा स्थानीयले बाँदरका कारण घरभित्रै असुरक्षित महसुस गर्नुपरेको गुनासो गरेका हुन्।
स्थानीयका अनुसार बाँदरहरू हुलका हुल घरभित्र प्रवेश गर्ने, घरका सामान तथा फलफूलमा क्षति पुर्याउने र कतिपय अवस्थामा आतंक सिर्जना गर्ने गरेका छन्। घरभित्र प्रवेश गरेपछि पाँच हजारदेखि १० हजार रुपैयाँसम्मको क्षति हुने गरेको उनीहरूको भनाइ छ।
स्थानीयले आफूहरू बाँदरविरोधी नभएको स्पष्ट पार्दै यसको संरक्षणसँगै व्यवस्थित व्यवस्थापन आवश्यक रहेको बताएका छन्। ‘हामी बाँदरसँग जुध्न सक्दैनौँ, व्यवस्थापन गरिदिनोस्’ भन्दै उनीहरूले महानगरपालिकासँग समस्या समाधानका लागि आग्रह गरेका छन्।
स्थानीयले भने, ‘हामी बाँदर विरोधी होइनौँ । ती बाँदर नास्नुपर्छ भन्ने होइन । तर, उनीहरूको आतंकमा बस्न सक्ने अवस्थामा रहेनौँ । त्यसैले व्यवस्थापन नगरी हुँदैन।’
स्थानीयको गुनासो सुनेपछि कार्यवाहक प्रमुख डंगोलले पीडित स्थानीय, वन्यजन्तु विज्ञ तथा सम्बन्धित सरोकारवालासँग छलफल गरी बाँदरको मानवीय व्यवस्थापनका लागि तत्काल गर्न सकिने काम अघि बढाउने बताइन्।
उनले अहिले तत्काल गर्न सकिने व्यवस्थापनको नमूना कार्यक्रम सुरु गर्दै अध्ययनका आधारमा कार्ययोजना बनाएर मानव–बाँदर द्वन्द्व व्यवस्थापन गर्नुपर्नेमा जोड दिइन्।
डंगोलले अध्ययन र योजनाबद्ध रूपमा गरिने व्यवस्थापनले समस्या समाधानसँगै दीर्घकालीन दिगोपना प्रदान गर्ने बताइन्।
महानगरपालिकाले स्थानीयको समस्या, वन्यजन्तुको संरक्षण र मानवीय पक्षलाई समेत ध्यानमा राख्दै बाँदर व्यवस्थापनको दिगो उपाय खोज्ने जनाएको छ।