काठमाडौं । नेपाली क्रिकेटप्रतिको जनचासो दिनप्रतिदिन बढिरहेको सन्दर्भमा राष्ट्रपति रामचन्द्र पौडेलले यसको प्रशंसा गर्दै नेपाली खेलाडीहरूले पछिल्लो समय हासिल गरेको सफलतालाई उच्च सम्मान प्रकट गरेका छन्।
एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा उपाधि जितेर फर्किएको नेपाली टोलीलाई शीतल निवासमा स्वागत गर्दै राष्ट्रपतिले नेपालले क्रिकेटमा देखाएको प्रगति खेलाडीहरूको समर्पण, लगाव र कडा मेहनतको नतिजा भएको बताएका हुन्।
सिंगापुरसँगको फाइनल खेलमा शानदार प्रदर्शन गर्दै उपाधि हात पार्न सफल नेपाली टोलीले मुलुकको प्रतिष्ठा उचो बनाएको भन्दै उनले यो सफलता सम्पूर्ण देशवासीका लागि गर्वको विषय भएको बताए।
राष्ट्रपतिले नेपाली युवामा खेलप्रतिको उत्साह र प्रतिबद्धता देख्दा आशावादी भइने उल्लेख गर्दै यदि परम्परागत खेलहरूलाई पनि सुधार, विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न सकियो भने देशको प्रतिष्ठा अझै बढ्ने विश्वास व्यक्त गरे।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्न देशभित्रै आवश्यक पूर्वाधार विकास, प्रशिक्षण र प्रतियोगिताको विस्तारमा विशेष ध्यान दिनुपर्ने धारणा राखे।
राष्ट्रपतिले यस्ता उपलब्धिहरूले राष्ट्रिय एकता, गौरव र प्रेरणाको भावना सिर्जना गर्ने भन्दै सबैलाई खेलकुद क्षेत्रको विकासमा योगदान गर्न आह्वान गरेका छन्।