काठमाडौं । सिंहदरबारभित्र रहेका सरकारी कार्यालयहरूमा अशक्त, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका सेवाग्राही र सरकारी कर्मचारीको सहज आवागमनका लागि ह्वीलचियरसहित सहजकर्ता सेवा सुरु गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मुख्यसचिव सुमनराज अर्यालले बुधबार उक्त सेवाको शुभारम्भ गर्नुभएको हो।
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन तथा प्रचलित कानुनले सुनिश्चित गरेका नागरिक र श्रमिक अधिकारको कार्यान्वयनलाई प्राथमिकता दिँदै सरकारले यो व्यवस्था लागू गरेको जनाएको छ।
सेवाको उद्घाटन गर्दै मुख्यसचिव अर्यालले सार्वजनिक सेवा लिन आउने सेवाग्राही तथा कार्यालयमा कार्यरत कर्मचारीले शारीरिक अवस्थाका कारण कुनै असहजता भोग्न नपर्ने गरी सेवा विस्तार गरिएको बताउनुभयो। उहाँले सिंहदरबारका अधिकांश कार्यालय अपाङ्गमैत्री बनिसकेको र बाँकी कार्यालयमा पनि आवश्यक संरचना निर्माणको काम छिट्टै सम्पन्न गरिने जानकारी दिनुभयो।
प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार सेवा लिन आउने नागरिक र कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय परिसरदेखि सम्बन्धित शाखा वा कार्यकक्षसम्म सुरक्षित र सहज रूपमा पुर्याउने व्यवस्था मिलाइएको छ।
यसका लागि प्रत्येक ह्वीलचियरसँग एक जना तोकिएको कर्मचारी सहजकर्ताका रूपमा खटिनेछन्। उनीहरूले सेवाग्राही तथा कर्मचारीलाई आवश्यक सहयोग उपलब्ध गराउनेछन्।
सरकारले यो सेवालाई दीर्घकालीन रूपमा निरन्तरता दिने तथा आगामी दिनमा देशभरका अन्य सरकारी निकायमा पनि विस्तार गर्ने तयारी गरेको जनाएको छ।