काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा छलफल गर्नुभएको छ।
छलफलका क्रममा देशको समसामयिक राजनीतिक अवस्था, मधेशका जिल्लाहरूमा देखिएको पछिल्लो परिस्थितिलगायत शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई थप सुदृढ बनाउने विषयमा विचार आदान–प्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा मधेश केन्द्रित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका थिए। सहभागी नेताहरूले मधेशका नागरिकका चासो, पछिल्ला घटनाक्रम र त्यसको दीर्घकालीन समाधानका उपायबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।
प्रधानमन्त्री शाहले राष्ट्रिय एकता, आपसी सहकार्य र संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिनुभएको बताइएको छ। उहाँले मुलुकमा शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दलको साझा भूमिका आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो।
सरकारले पछिल्लो समय विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षसँग नियमित संवादलाई निरन्तरता दिँदै आएको छ। सोही क्रममा मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग पनि वर्तमान अवस्था र आगामी कार्यदिशाबारे छलफल गरिएको जनाइएको छ।