काठमाडौं । काठमाडौं महानगरपालिकाले छात्रवृत्ति कोटाका लागि लिएको कक्षा ११ र १२ को प्रवेश परीक्षा शनिबार मर्यादित र व्यवस्थित ढंगमा सम्पन्न गरेको छ । पहिलो पटक यो परीक्षाको उत्तरपुस्तिका ओएमआर (OMR) प्रणालीमार्फत जाँचिने भएको छ ।
महानगरको शिक्षा विभागका अनुसार २०८२/०८३ शैक्षिक सत्रका लागि देशभरका ७७ जिल्लाबाट १७,२२९ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये १६,१३७ विद्यार्थी छनोटमा परेका थिए भने १४,१७३ जनाले परीक्षामा सहभागिता जनाएका थिए ।
परीक्षा बिहान ८ देखि १० बजेसम्म काठमाडौंका ५४ परीक्षा केन्द्रमा सञ्चालन भएको थियो । कक्षा १० को पाठ्यक्रममा आधारित परीक्षामा गणित, विज्ञान र अङ्ग्रेजी विषयबाट ३०–३० र सामान्य ज्ञानबाट १० गरी कुल १०० बहुवैकल्पिक प्रश्न सोधिएका थिए । नकारात्मक अङ्कन नराखिएको परीक्षामा न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने व्यवस्था छ ।
ओएमआर प्रणालीमार्फत उत्तरपुस्तिका स्क्यान गरी मेसिनबाटै स्वचालित रूपमा जाँच गरिँदैछ । सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलका अनुसार नतिजा आइतबार बिहान काठमाडौं महानगरको आधिकारिक वेबसाइटमा प्रकाशित गरिनेछ ।
पोखरेलका अनुसार, १६० संस्थागत विद्यालयहरूमा चार हजारभन्दा बढी छात्रवृत्ति सिट उपलब्ध छन् । तीमध्ये ४०५ सामुदायिक विद्यालय, ५५ संस्थागत विद्यालय, १४५ महानगरका स्थायी बासिन्दा र १५ ल्यान्डफिल प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई प्राथमिकता दिइनेछ ।