समाजवादी मोर्चालाई नयाँ ढंगबाट अघि बढाइने : प्रकाण्ड

hitkhabar.com


काठमाडौं । समाजवादी मोर्चाले देशलाई समाजवादी गणतन्त्रको दिशामा लैजान नयाँ ढंगले आफूलाई प्रस्तुत गर्ने निष्कर्ष निकालेको छ ।

आज मंगलबार नेकपा एसको पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकपछि नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले मोर्चालाई सुदृढ गर्दै समाजवादी लक्ष्यतर्फ अग्रसर गरिनुपर्ने आवश्यकता औँल्याए ।

‘देशको वर्तमान अवस्था जटिल छ । निराशावादले जनतालाई गाँजेको छ । यस अवस्थामा समाजवादी मोर्चालाई मजबुत बनाउँदै नयाँ ढंगबाट प्रस्तुत हुन जरुरी छ,’ प्रकाण्डले भने, ‘गणतन्त्रलाई कमजोर बनाउने प्रवृत्ति देखिएको छ । राज्य सञ्चालकको शैली डर लाग्दो छ । देशको सम्पत्ति र युवाशक्ति दुवै पलायनमा छन् ।’

उनका अनुसार मोर्चाको बैठकले समाजवादी मूल्य, सिद्धान्त र अभियानलाई व्यवहारिक रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

‘समाजवाद र गणतन्त्रको सुरक्षाका लागि हाम्रो मोर्चा गम्भीर बनेको छ,’ उनले थपे, ‘हामीले आफ्ना कमजोरीको निर्ममता पूर्वक समीक्षा गरी नयाँ उचाइमा उठ्नुपर्ने निष्कर्षमा बैठक पुगेको छ ।’

समाजवादी मोर्चामा नेकपा एस, नेसपा, माओवादी केन्द्र निकट समूहहरू लगायत विभिन्न वामपन्थी धारहरू आवद्ध छन् ।

प्रतिक्रिया